News

२३ वर्षकी गर्भवती महिलाको कोरोना संक्रमणका कारण निधन

कोरोना भाइरसबाट संक्रमित भएकी एक गर्भवती महिलाको निधन भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत बारा हर्दिया गाउँकी २३ वर्षकी गर्भवती महिलाको उपचारको क्रममा बिहीबार बिहान निधन भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

भदौ ८ गते स्वास्थ्यमा समस्या देखिएपछि ती महिलालाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वासमा समेत समस्या देखिएपछि स्वाब संकलन गरी आइसोलेशनमा राखी उपचार हुँदै आएको थियो । बुधबार आएको रिपोर्टमा उनी संक्रमित रहेको पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि थप सतर्कताका साथ उपचार भइरहँदा ती महिलाको बिहीबार बिहान निधन भएको अस्पतालले जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको बुधबार दिउँसोसम्म तथ्यांकअनुसार नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ । पछिल्लो २४ घन्टामा ११ जनाको ज्यान गएको हो ।

विभिन्न अस्पताल र प्रदेशले दिएको जानकारी अनुसार आज पनि दोहोरो अंक (१० वा सो भन्दा माथि) मा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको भेटिएको छ । तर यसको बारेमा आधिकारिक रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउँसो गर्ने नियमित प्रेस ब्रिफिङ्गमा बताइनेछ ।

Related Articles

Back to top button
Close