Health

वीर अस्पतालको चरम लापरवाही : कोविड-ननकोविड बिरामी एकैठाउँ, चिकित्सक पनि संक्रमित

काठमाडौं। कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको अवस्थामा पछिल्लो समय अस्पतालको लापर्वाहीले अस्पतालबाटै कोरोना संक्रमण हुन थालेको पाइएको छ । कोरोना भाइरसको सङ्क्रमणसँगै नागरिकमा त्रास फैलिदै गएपछि यसको रोकथाम तथा उपचारमा अस्पतालले अहम् भूमिका निर्वाह गरेको हुन्छ। तर, काठमाडौँमा अवस्थित वीर अस्पतालमा भने कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँमा राखेर उपचार गरेको पाइएको छ। यति मात्र होइन, कोभिड र ननकोभिड बिरामीलाई एउटै स्वास्थ्यकर्मीले उपचार गर्ने गरेको समेत पाइएको छ।

कोभिड र ननकोभिडका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा जोखिम बढेको भन्दै बिरामी र स्वास्थ्यकर्मी त त्रसित भएका छन् नै कोभिड र ननकोभिड बिरामीले प्रयोग गर्ने शौचालय समेत एउटै छ। युरो ट्रान्जिसनल वार्डमा ननकोभिड बिरामी राखिएको भए पनि बीचमा सानो ढोका मात्र राखेर कोभिडका बिरामी राखेको अस्पतालका एक कर्मचारी बताउँछन् । कोभिडका बिरामीलाई राखिएको कोठा साँघुरो र पुरानो छ।

ती कर्मचारीका अनुसार उक्त वार्डमा ननकोभिडका ८ जना र कोभिडका ५ जना संक्रमित उपचाररत छन्। तर, अस्पतालको एक डाक्टरले भने कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँ नराखिएको बताए । उनले कोरोना संक्रमितलाई नभई कोरोनाका शंकास्पद बिरामीलाई त्यहाँ राखिएको बताए । यद्यपि, दुवैको वार्ड छुट्टाछुट्टै रहेको भए पनि उनीहरुले प्रयोग गर्ने शौचालय भने एउटै रहेको उनले बताए। कोभिड र ननकोभिड बिरामीलाई एउटै स्वास्थ्यकर्मीले उपचार गर्नुपरेको भने उनी स्वीकार्छन्।

अस्पतालको भौतिक संरचना कोरोनाको उपचारका लागि सही नभएकाले दुवैलाई व्यवस्थापन गर्न समस्या भएको उनले स्वीकार गरे। उनले भने, ‘दुवै बिरामीलाई एकै ठाउँमा राखेका छैनौं। शंकास्पद बिरामीलाई राखेको हो तापनि वार्ड फरक छ। तर उनीहरुले प्रयोग गर्ने शौचालय एउटै छ। एउटै स्वास्थ्यकर्मीले उनीहरुको उपचार गर्नुपर्छ। हाम्रो भौतिक संरचनाले पनि दिँदैन। त्यसैले दुवैलाई व्यवस्थापन गर्न समस्या भएको छ।’

अस्पतालको कमजोर व्यवस्थापन र जनमानसको स्वास्थ्यमाथि चरम लापरवाही

अस्पताल प्रशासनको व्यवस्थापकीय कमजोरी र लापरबाहीले आफूहरु जोखिममा पर्दै गएको वीर अस्पतालका कर्मचारीहरुले बताएका छन्। त्यस्तै अस्पतालको इमरजेन्सीका कार्यरत एक चिकित्सकले अस्पतालले आवश्यक मात्रामा पिपिई उपलब्ध नगराएको, मास्क र ग्लोब्सको अभाव भएको र कोभिड भत्ता समेत नदिएको गुनासो गरेका छन् । उनि भन्छन , ‘एउटा ग्लोब्स धोएर लगाउनुपर्छ। पिपिई समेत आवश्यक मात्रामा दिइएको छैन। कोभिड भत्ता छैन। यो विषयमा आवाज उठाउँदा उल्टै राजीनामा देऊ भन्छन्।’

उनका अनुसार वीर अस्पतालका केही कर्मचारीहरुले राजीनामा दिने समेत तयारी गरेका छन्। उनी भन्छन्, ‘अस्पतालका निर्देशक, प्रशासन र कोभिड टिम कसैले पनि यो विषयमा वास्ता गरेको छैन। यस्तै भयो भने सयौंको संख्यामा स्वास्थ्यकर्मीहरु कोरोना पोजेटिभ हुन्छन्।’

हालसम्म वीर अस्पतालको सिटी स्क्यान, एमआरआई, डेन्टल, इएनटी, प्याथोलोजी, कार्डियो, इमर्जेन्सी, एकाउन्ट शाखामा कोरोना देखिनुका साथै हाउस किपिङ र सरसफाइ कर्मचारीमा पनि कोरोना भेटिएको छ ।

न्याम्स अन्तर्गतका हालसम्म ४७ जना स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालका कोभिड फोकल उनि बतौछां । उनका अनुसार हाल ४० जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा छन्। वीर अस्पतालमा हाल ४४ जना कोरोना संक्रमितको उपचार भइरहेको उनले जानकारी दिए।

प्रशासनको लापरवाहीको असर चिकित्सकमा, दुई जनामा संक्रमण पुष्टि

कोभिड र ननकोभिडका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा जोखिम त बढेको छ नै यसको प्रत्यक्ष असर भने अहोरात्र बिरामीको सेवामा खटिने चिकित्सकमा पर्न गएको छ। अस्पतालको चरम लापरवाहीका कारण आज वीर अस्पतालको इमरेन्जी वार्डमा कार्यरत दुईजना चिकित्सकमा कोरोना संक्रमणको पुष्टि भएको छ । सोमबार बिहान इमरजेन्सीमा काम गर्ने दुई जना मेडिकल अफिसरमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको हो ।

संक्रमण पुष्टि भएपछि दुई चिकित्सक होम आइसोलेसनमा बसेका छन्। यसअघि पनि इमरजेन्सीकै एक कन्सल्टेन्ट चिकित्सकमा कोरोना संक्रमण भएको थियो । उनी अहिले उपचाररत छन् । वीरकै जेनरल फिजिसियन अर्का संक्रमित डाक्टर त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।

Related Articles

Back to top button
Close