News

बजारमा तेलको भाउ बढेर २८५ रुपैयाँ पुग्यो, चामलको भाउ पनि झनै बढ्यो

काठमाडौं। यो साता पनि बजारमा अत्यवश्यकीय खाद्य वस्तुको मूल्यमा उतार चढाब देखियो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार हरियो तरकारी, मसला र फलफूलको भाउमा खासै ठूलो उतार चढाब छैन् । तर खाद्यन्नतर्फ भने व्यवसायीहरुले चामल र खाने तेलको भाउ भने झनै बढाएका छन्।

दाल, चामल र तेलको मूल्यमा वृद्धि देखिएको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ । म्यानमारको संकटका कारण मुसुराको दालको भाउ प्रतिकिलो बढीमा तीन रुपैयाँसम्मले बढेको छ भने चामल किलोमा ७ रुपैयाँ तथा तेलको भाउ २० रुपैयाँसम्मले बढेको संघले जनाएको छ । किलोमा ५९ रुपैयाँ रहेको जिरामसिनो चामलको भाउ ६६ रुपैयाँ पुगेको छ भने मासको दाल किलोमा तीन रुपैयाँले बढेर १६१ रुपैयाँ तोकिएको छ।

बजारमा तोरीको तेलको भाउ २७५ रुपैयाँबाट बढेर २८५ रुपैयाँ पुगेको छ भने सोयबिनको तेलको भाउ पनि लिटरमा १० रुपैयाँले बढेको छ। यस्तै सूर्यमूखी तलेको भाउ पनि लिटरमा १० रुपैयाँले बढाएर २२५ रुपैयाँ कायम भएको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ।

यस्तै यो साता ब्रोइलर कुखुराको मासुको भाउ पनि बढेको छ । मासुको भाउ १० देखि १५ रुपैयाँले बढेर प्रतिकिलो ४२० रुपैयाँसम्म पुगेकोे राष्ट्रिय मासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले बताए । यो साता कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसानका लागि १२ वटा पसल सटर दिने समाचार किसानका लागि खुसीको कुरा रह्यो।

बजारमा खाद्यन्नको मूल्य वृद्धि अनियन्त्रित भए पनि यो साता पनि यससँग सम्बन्धित बजार अनुगमन भने कुनै निकायबाट हुन सकेन । खाने तेल र खाद्यन्नको मूल्यले उपभोक्ताको ढाड सेकिएको बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने स्वास्थ्य सामग्री केन्द्रित अनुगमनलाई तीब्रता दिएको छ।

Related Articles

Back to top button