Uncategorized

ऐश्वर्यले नयाँ फर्निचरहरू किन्न सुझाव दिँदा राजा बिरेन्द्रले भने, ‘जनताले दुःख गरेर तिरेको करबाट यी फर्निचर किनिएका हुन्, पुराना सोफाका कपडा फेरेर मरम्मत गरे हुन्छ, नयाँ किन्नुपर्दैन ।’

नारायणहिटी दरबारमा भएको काण्ड (२०५८ जेठ १९) अत्यन्त पीडादायक घटना थियो । सो घटनामा मारिएका राजा वीरेन्द्र पृथ्वीनारायण शाहका वंशज, राजा त्रिभुवनका नाति र राजा महेन्द्रका सुपुत्र मात्र थिएनन्, आफ्नो कालखण्डमा संसारमै अत्यन्त सम्मानित, विशिष्ट राजनेता (स्टेट्सम्यान) मध्ये एक थिए । अमेरिका, चीन, सोभियत संघ, फ्रान्स, जर्मनी, ब्रिटेन, भारतलगायतका धेरै राष्ट्रको भ्रमण गर्दा उनले पाएको ठूलो सम्मानले नेपाल र नेपालीको शिर ठाडो हुन्थ्यो । एउटा अल्पविकसित राष्ट्रका राष्ट्राध्यक्षले सुसम्पन्न र अति विकसित राष्ट्रका राष्ट्राध्यक्षहरूसँग संवाद गर्दा समसामयिक विषयमा महत्वपूर्ण सुझाव दिन सक्छन् र त्यसले संयुक्त राष्ट्रसंघ एवं महाशक्तिहरूलाई पनि सोच्न बाध्य बनाउँछ भन्ने कुरा राजा वीरेन्द्रले राम्रोसँग प्रमाणित गरेर देखाइदिए ।

ब्रिटेनको इटन कलेज र अक्सफोर्ड विश्वविद्यालय, अमेरिकाको हार्वर्ड विश्वविद्यालय तथा टोकियो विश्वविद्यालयको अब्बल शिक्षाले मात्र राजा वीरेन्द्रको व्यक्तित्वलाई विराट् र उच्च बनाएको होइन । राजदरबारमा परिवारबाट पाएको संस्कार, तालिम, राष्ट्र र जनताप्रति पिताको समर्पण, अदम्य एवं अतुल्य प्रेम एवं राष्ट्रलाई सुदृढ, समृद्ध र युगानुकूल बनाउनुपर्छ भन्ने संचेतनाले राजा वीरेन्द्रलाई सदैव उत्प्रेरित गरिरहेको पाइन्छ । उनको जीवनकाल (२००२ पुस १४ गतेदेखि २०५८ जेठ १९ सम्म) अध्ययन गर्दा व्यक्तिगत सुखसयल, भोगविलास, मोजमज्जा र अर्थहीन कुरामा उनले समय बर्बाद गरेको पाइँदैन । पलपलको सदुपयोग गरे राजा वीरेन्द्रले ।

२०३८ साल भदौ १६ गते पेरिसमा आयोजित अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा राजा वीरेन्द्रले गरेको सम्बोधन संसारमै चर्चित र प्रशंसित बन्न पुग्यो । धनी राष्ट्रहरूले अल्पविकसित राष्ट्रका पीडा, व्यथा, अभाव, बेरोजगारलगायतका गम्भीर समस्याबारेमा स्पष्ट नीति बनाएर सकारात्मक काम गर्नुपर्ने उनको सुझाव र आग्रह थियो । उनले भाषणमा अभिव्यक्त गरेका हृदयस्पर्शी शब्दहरूले त्यहाँ उपस्थित सम्पूर्ण सहभागी द्रवित र भावविभोर बन्न पुगे । अल्पविकसित राष्ट्रहरू (अफगानिस्तान, नेपाल, लाओस, भुटान, मालदिभ्स र समोआ) सहभागी भएको सो राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्दै उनले दरिद्रताको चित्रण गरे ।

आज विस्तारै हराउँदै छ राष्ट्रको गरिमा र इज्जत । राष्ट्रमा अहंकार, विखण्डन र विभाजनको कर्कस आवाज सुनिन्छ । यस्तै अन्योलमा राजा वीरेन्द्रले सोधिरहे झैं लाग्छ, ‘कसरी बचाउँछौ यो देश ? कसरी बचाउँछौ राष्ट्रिय एकता र कसरी जोगाउँछौ स्वाभिमान र इतिहास ?

‘अल्पविकसित देशको एक गरिब व्यक्तिले पौष्टिक आहारा खानै पाउँदैन । संसारमा यस्ता गरिबको संख्या पनि करोडौं छ । उसलाई कुनै पनि रोग लाग्न सक्छ । उसको आयु छोटो छ, ऊ छाप्रोमा बस्छ, जहाँ गरिबी एवं दरिद्रताले उसलाई सधैं घेरिराखेको हुन्छ । न उसले पढेको छ, न त उसमा कुनै सीप नै छ । नियमित रूपमा ऊ खान पाउँदैन र यदि संयोगले एक छाक पाइहाल्यो भने अर्को छाक कताबाट जुटाउने भन्ने डरले उसलाई भयभीत गराउँछ । लुगा लगाएको भए पनि उसको त्यो लुगा झुत्रो मात्र हुन्छ । ऊ नांगै खुट्टाले हिँड्छ ।

फोहोर, अल्पआहार र सरुवा रोगले उसको शरीरमा आफ्ना चिन्हहरू छोडेका हुन्छन् । धेरैजसो ऊ गाउँहरूमा नै बस्छ । ती गाउँ विश्वको शेष भागबाट अलग्ग मात्र होइन, पुग्नै नसकिने हुन्छन् । सहरका फोहर बस्ती अथवा छाप्राहरूमा पनि ऊ भेटिन्छ । उसले पिउने पानी न सुरक्षित हुन्छ न त सफा नै । ऊ कि बेरोजगार हुन्छ कि त अर्धरोजगार । उसले काम पायो भने पनि उसलाई कि बढी काम लगाइन्छ कि त मेहनत हेरी कम पारि श्रमिक दिइन्छ । उसले तिरस्कार र बद्नामी सहनुपर्छ । जन्मदेखि मृ’ त्युपर्यन्त ऊ दरिद्र रहन्छ । धेरैजसो ऊ बाल्यावस्थामै मर्छ । बाँच्यो भने पनि अभाव र विपन्नताले उसलाई मृ त्युसम्म छोड्दैन । अन्त्यमा जब उसले संसार छोड्छ, यता बाँच्नेहरूभन्दा म’रेर जाने ऊ नै बढी सुखी देखिन्छ ।’

राजा वीरेन्द्रले शक्तिराष्ट्रहरूप्रति कठोर व्यंग्य गर्दै भने, ‘विश्वका गरिबहरूका पक्षमा मैले बोलिरहेको यसै बेला दाल, भातको लागि कराइरहेको एउटा बालकको म आवाज सुन्छु । तर हामी उसलाई दाल, भात अथवा रोटीको बदला ब’म दिन्छौं । ऊ दयाको भीख माग्दै हामीतिर हेर्छ, तर हामी उसलाई निर्दयताको तिरस्कार दिन्छौं र ऊ शान्तिको कामना गर्छ, हामी यु द्धको तयारी गर्छौं ।”

राजा वीरेन्द्रका निम्ति प्रशस्त आन्तरिक चुनौती अग्ला र दुर्लङ्घ्य पहाड बनेर उभिएका थिए । अन्तर्र्राष्ट्रिय जगत्मा नेपाललाई सम्मानपूर्वक उभ्याउने उनको प्रबल चाहना थियो । जहाँ पुगे पनि उनी राष्ट्र र जनताका हितमा आफ्ना विचार प्रस्ट राख्थे । संवादका क्रममा केही पश्चिमा राष्ट्रले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरिएमा प्रशस्त सहायता गर्ने प्रस्ताव पनि राखे तर ‘आफ्ना प्राचीन धर्म-संस्कृति र परम्परा त तपाईंहरूलाई पनि प्रिय लाग्छ नि होइन र ? नेपालको संविधानमा प्राचीन धर्म-संस्कृतिको रक्षा गर्ने प्रावधान के गलत छ र ? ‘ भनेर राजा वीरेन्द्रले जर्मनीका चान्सलर हेल्मुट कोललगायतलाई प्रतिप्रश्न गर्दा ती राजनेता मौन हुन्थे ।

राजा वीरेन्द्रसँग निकट रहेर काम गरेका उनका शिक्षक तथा स्वकीय सचिव नारायणप्रसाद श्रेष्ठ भन्छन्, ‘विश्वको गहिरो ज्ञान र शालीन भाषामा तर्क गर्ने उहाँको विलक्षण क्षमताले जहाँ गए पनि नेपालको राष्ट्राध्यक्ष भन्नासाथ ती मुलुकका राजा, राष्ट्रपति, सरकार प्रमुख र कूटनीतिज्ञहरू अत्यन्त श्रद्धा गर्थे । राजा वीरेन्द्रको आकर्षक व्यक्तित्व, विद्वता र क्षमता देखेर उनीहरू प्रभावित हुन्थे ।’

राजा वीरेन्द्रले सबैतिर विकासको उज्यालो पुगोस् भन्ने उद्देश्यले नेपाललाई पाँचवटा विकास क्षेत्र बनाएर धनकुटा, पोखरा, सुर्खेत र दिपायल (डोटी) लाई क्षेत्रीय सदरमुकाम बनाए । उनले सेना, प्रहरी र निजामती कर्मचारी र स्काउटलाई समेत आधुनिक बनाउँदै लगे । भारतसँग मात्र भर पर्नुपर्ने अवस्थाबाट मुक्ति पाउन उनले चीनसँग सम्बन्ध अझ सुदृढ गरे । सार्कको प्रधान कार्यालय काठमाडौंमै राख्ने प्रबन्ध मिलाए । संयुक्त राट्रसंघ र विकसित राष्ट्रका परियोजनाहरू भित्याएर नेपालका हिमाली, पहाडी र तराईका जिल्लामा विकासको रक्तसञ्चार गराए ।

कर्णाली क्षेत्रको विकास गर्न उनले नेपाली सेनालाई कर्णाली राजमार्ग बनाउने काममा खटाए भने सेनाले धेरै ठाउँमा विकास निर्माणका उल्लेखनीय काम गरेको छ । कोहलपुर-वनबासा सडक खण्ड, कर्णालीको पुल, झापा-इलाममा चिया खेतीको आधुनिकीकरण, मेची राजमार्ग, कोशी राजमार्ग, विभिन्न जिल्लाका सडक सञ्जाल, कृषिको आधुनिकीकरण, शिक्षा, सञ्चार, उद्योग र स्वास्थ्य क्षेत्रमा सुधार, लुम्बिनी क्षेत्रको प्रगति, जनकपुरधाम विकास परियोजना, यातायात, वन संरक्षण, पर्यटन प्रवद्र्धनलगायत विविध क्षेत्रमा वीरेन्द्रले देखाएको चासो र तद्नुसारको निर्देशनले धेरै ठूला परियोजना सम्पन्न भएका छन् । मध्यपहाडी राजमार्ग उनकै सपना थियो । नेपाललाई ऊर्जालगायतका सम्पूर्ण कुरामा आत्मनिर्भर बनाउन चाहन्थे उनी ।

युवराज छँदा उनले त्रिशूलीदेखि बुटवलसम्म पैदल यात्रा गरे । मेचीदेखि महाकालीका विभिन्न भागमा सिपाहीको पोसाक लगाएर जनताको दुःख, दर्द बुझ्न झुप्रा-झुप्रामा पुगे । पाल्पा भ्रमणमा गएका बेला उनले तत्कालीन बडाहाकिम कृष्णबहादुर बर्मालाई भनेका थिए, ‘हामीले जबर्जस्ती गर्ने होइन, जनताको आवश्यकता बुझेर जनतासँगै हिँड्ने, जनतासँगै सोच्ने र जनतासँगै काम गर्ने बानी बसाउनुपर्छ ।’

नेपाललाई सदैव सुरक्षित, स्वतन्त्र, शान्त र समुन्नत बनाउने अभिप्रायले राजा वीरेन्द्रले २०३१ साल फागुन १३ गते (शुभराज्याभिषेकको भोलिपल्ट) शान्ति क्षेत्रको प्रस्ताव राखे । आफ्नो शुभराज्याभिषेकमा काठमाडौंमा उपस्थित भएका विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखसमक्ष उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राखेका थिए । ११६ राष्ट्रले समर्थन गरे पनि भारतले दुराशयपूर्वक त्यसको समर्थन गरेन ।

२०४५ सालमा राजाले चीनबाट विमानभेदी ह’ति’यारसमेत ल्याएर नेपाली सेनालाई सुदृढ गर्न खोज्दा भारतले १५ महिना नाकाबन्दी गर्‍यो । त्यसबेला गोरखापत्र दैनिकमा पत्रकारको रूपमा कार्यरत पंक्तिकारलाई राम्ररी सम्झना छ- भारतले नेपाल चीनपरस्त बन्दैछ भनेर दुष्प्रचार गर्दा प्रतिबन्धित अवस्थामा रहेका नेपालका कुनै पनि दल राष्ट्रको पक्षमा बोलेनन् । ऋषिकेश शाहजस्ता मानवअधिकारवादीले भारतीय टेलिभिजनमा बोल्दै नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

राजा वीरेन्द्रले भनेका छन्, ‘संकटको बेला मानिसको पहिचान हुन्छ ।’ बीपीका जेठा छोरा प्रकाश कोइरालालगायतका केही राजनीतिज्ञले राजालाई त्यसबेला हौसला दिएका थिए । राजासँग राजनीतिक मतभिन्नता भए पनि राष्ट्रलाई संकट पर्दा राजतन्त्रवादी र प्रजातन्त्रवादी एकै ठाउँमा बलियोसँग उभिनुपर्छ भन्ने बीपी कोइरालाको अटुट विश्वास थियो । नेपाली कांग्रेसको मेरुदण्ड र धरातल नै त्यही विश्वास थियो । २०४७ सालको संविधान बनाउने काममा अग्रणी भूमिका खेल्ने कांग्रेस पार्टी आज नीतिविहीन र नेताविहीन बनेको छ । त्यो पार्टी ‘भत्क्या पार्टी’ जस्तो छ र गुटहरू प्रबल र निर्णायक बनेका छन् । जोसँग मिल्दा सत्ता प्राप्त हुन्छ, त्यहीसँग टाँसिने नीतिले कांग्रेस मात्र होइन, अरू कैयन् दल पतीत बन्दै गएका छन् । राजा वीरेन्द्र र बीपीले परिकल्पना गरेको प्रजातन्त्रको स्वरूप आज कुरूप देखिएको छ ।

‘मेरो साथी वीरेन्द्र शाह’ शीर्षकको आलेखमा राजा वीरेन्द्रका बाल्यकालका साथी केशवकुमार बुढाथोकीले सन् १९५४ मा दार्जिलिङमा स्कुल पढ्दाका दिनहरूको सम्झना गरेका छन् । ‘हाम्रो पकेट मनी राखिदिने क्यासियर पनि वीरेन्द्र नै थिए । दुई रुपैयाँमा चौरस्तामा घोडा चढ्न पाइन्थ्यो । वीरेन्द्र आफू बीचमै ओर्लेर आफ्नो पैसामा अरू साथीलाई पनि घोडा चढाउँथे । यसो गर्दा सबैको रहर पूरा हुन्थ्यो । पैसाको किफायत हुन्थ्यो ।

उनी थोरै खाना पनि बाँडेर खान्थे । उसिनेको एउटा अन्डा पनि का’टेर साथीहरूलाई बाँड्थे । कसैलाई पक्षपात नहोस् भन्ने उनको सानैदेखि स्वभाव थियो । उनी बालकै भए पनि हाम्रा अभिभावक जस्ता थिए । दरबारमा भएको काण्डबारे धेरैले अनावश्यक शंका पनि गरे । वीरेन्द्र शाह र उनका भाइहरूको सुमधुर सम्बन्धबारे थाहा नपाउने केही शंकालुहरूले अनर्गल प्रचार पनि गरे । वीरेन्द्र शाहप्रति उनका भाइहरूको कुनै दुर्भावना थिएन ।’

जनताले दुःख भोग्नु नपरोस् भनेर राजा वीरेन्द्र सधैं चिन्तित रहन्थे भनेर पञ्चायतकालीन प्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द र मरीचमान सिंहले लेखेका छन् । ‘नुन, मट्टीतेल, डिजेल, पेट्रोललगायतका विदेशबाट ल्याउनुपर्ने पदार्थहरू वर्षभरिलाई कति चाहिन्छ, अलिकति बढी ल्याउनू र त्यसको दस प्रतिशत स्टक राख्नू । प्रत्येक वर्ष यसो गर्दै जाँदा १० वर्षपछि केही भयो भने एक वर्षसम्म हामीलाई केही फरक पर्दैन’ भनेर राजा वीरेन्द्रले निर्देशन दिएको कुरा चन्दले लेखेका छन् । ( श्री ५ वीरेन्द्र स्मतिग्रन्थ, पृष्ठ ? )

दरबारका पुराना सोफाहरू हटाएर महारानी ऐश्वर्यले नयाँ फर्निचरहरू किन्न सुझाव दिँदा राजाले भनेछन्, ‘जनताले दुःख गरेर तिरेको करबाट यी फर्निचर किनिएका हुन् । पुराना सोफाका कपडा फेरेर मरम्मत गरे हुन्छ, नयाँ किन्नुपर्दैन ।’ राजा वीरेन्द्रको कथन सम्झिँदै दरबारका पुराना कर्मचारी भन्छन् ।

२०४५ सालमा प्रधानमन्त्री रहेका मरीचमान सिंहले पंक्तिकारसँग भनेका थिए, ‘नाकाबन्दीका बेला भारतमा बस्ने लाखौं नेपालीलाई त्यहाँबाट हटाउने हल्ला आयो । राति अबेरसम्म दरबारमा छलफल भयो । ‘गरिबहरूलाई भारतले त्यहाँ काम गरेर खान पनि नदिने भो, नेपालमै ल्याएर केही व्यवस्था गर्नुपर्ला’ भन्दै सरकारबाट चिन्ता व्यक्त गरिबक्स्यो । उहाँका आँखा रसाएका थिए । राजालाई जनताको कत्रो पीर रहेछ भन्ने मैले राम्ररी बुझें।”

जसरी जनताको दुःखमा राजा वीरेन्द्र भावविभोर हुन्थे, त्यसैगरी शान्ति र विकासका योजनाहरू देख्दा उनी खुसी हुन्थे । हिमाली जिल्ला मुस्ताङका पूर्वमन्त्री तथा संस्कृतिविद् कृष्णलाल थकाली भन्छन्, ‘दुर्गम क्षेत्र विकास समिति र गुम्बा विकास समितिमा मात्र होइन, पञ्चायत नीति तथा जाँचबुझ समितिको सदस्य, राष्ट्रिय सभाको सदस्य र मन्त्री भएर मैले काम गर्दा राम्रोसँग दरबार बुझ्ने मौका पाएँ । राजा वीरेन्द्रको प्राथमिकता भनेकै शान्ति र विकास थियो । छिमेकी राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ भन्ने उहाँको धारणा थियो । हिमाल, पहाड र तराई कतै पनि जनतामाथि भेदभाव नहोस् भनेर उहाँ सधैं सतर्क रहेको मैले पाएँ । प्राचीन धर्म-संस्कृतिप्रति उहाँको गहिरो श्रद्धा र अनुराग थियो ।’

राजा वीरेन्द्र सबैका पिता र अभिभावक जस्ता थिए । आफूलाई थाहा नभएका कुरा जोसँग पनि सिक्नुपर्छ भन्ने उनको मान्यता थियो । २०२२ सालमा भारतको मसुरी घुम्न जाँदा उनले भारतीय चलचित्रका हास्य कलाकार जोनी वाकरसँग हास्यव्यंग्यबारे छलफल गरेको प्रा. यदुनाथ खनालले लेखेका छन् । चित्रकला (पेन्टिङ) राजा वीरेन्द्रको सौख (हवी) थियो । उनी कहिलेकाहीं सांस्कृतिक कार्यक्रममा मादल बजाउँथे । सुबी शाहले उनलाई मादल बजाउन सिकाएका थिए । एकपटक विदेश जाँदा आफूले गीत गएको र राजा वीरेन्द्रले मादल बजाएको कुरा कीर्तिनिधि विष्टले आफ्नो संस्मरणमा लेखेका छन् । भनिन्छ- अधिराजकुमारी श्रुतिले बुबासँग पेन्टिङको प्रारम्भिक शिक्षा लिएकी थिइन् ।

सपनाजस्तो कतै हराएर, बिलाएर गए ती दिनहरू । आज विस्तारै हराउँदै छ राष्ट्रको गरिमा र इज्जत । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकासमेत कमजोर बन्दै गएको छ । राष्ट्रमा अहंकार, विखण्डन र विभाजनको कर्कस आवाज सुनिन्छ । यस्तै अन्योलमा राजा वीरेन्द्रले अज्ञात ठाउँबाट आकाशवाणी झैं सोधिरहे जस्तो लाग्छ, ‘कसरी बचाउँछौ यो देश ? कसरी बचाउँछौ राष्ट्रिय एकता र कसरी जोगाउँछौ स्वाभिमान र इतिहास ? ‘

(जेठ २२, २०७४ मा प्रकाशित युवराज गौतमको लेख अन्नपूर्णपोस्टबाट लिइएको)

Related Articles

Back to top button
Close