News

भोलिबाट लागु भै बैसाख १५ सम्म हुने लकडाउन निकै कडा हुँदै

सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि यही वैशाख १५ गते सोमबारसम्म लकडाउन कायम गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नागरिकको सुरक्षाका लागि वैशाख १५ गते मध्यरातसम्म लकडाउन कायम राख्ने निर्णय गरेको बताए । “विश्वव्यापीरुपमा कोरोना भइरसको सङ्क्रमण फैलने सम्भावना कायम नै रहेको हुनाले यही वैशाख १५ गते मध्यरातिसम्म लागू हुने गरी लकडाउन कायम गर्ने निर्णय भएको छ”, सरकारका प्रवक्ता डा खतिवडाले भने ।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा खतिवडाले कोरोना भाइरसबाट सुरक्षित रहन छिमेकी मित्र राष्ट्रहरुले चालेको प्रयास र अभ्यासलाई समेत ध्यानमा राखेर काम भइरहेको जानकारी दिए। उनले भने, “नेपालमा बसोबास गर्ने सबैलाई सुरक्षा दिनका लागि नेपालमा अन्तर्राष्ट्रिय र खुला सिमानाबाट हुने आवतजावत बन्द गर्ने पहिलाको निर्णयलाई नै निरन्तरता दिइएको छ, आदेशको पूर्ण पालना नगर्नेलाई कानूनबमोजिम कडा कारवाही गर्ने निर्णय भएको छ ।” सरकारले कोरोना सङ्क्रमण र रोगको रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि भएको जनाउँदै हालसम्म यसको पालना गरी साथ दिएकामा सबै नेपालीलाई धन्यवाद दिएको छ ।

त्यस्तै उपत्यकामा पनि कोरोना संक्रमित देखिएपछि प्रहरीले लकडाउनमा थप कडाइ गरेको छ। पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना पुष्टि भएसँगै प्रहरीले थप कडाइ गरेको हो।

लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले अब बल समेत प्रयोग गर्न सक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। ‘हामीले झन् कडा बनाउँदै गएका छौं,’उनले भने,’भनेर पनि नटेर्नेहरूलाई अब बल समेत प्रयोग गर्न सक्छौं।’

साथै, त्यस्तालाई जरिवाना तिराउनेदेखि एक महिनासम्म थुन्न सकिने उनले बताए। लकडाउन उल्लंघन गर्नेहरूले विभिन्न खालका बहाना बनाउने गरेको उनले बताए। ‘कोही तरकारी किन्न, कोही सुगरको बिरामी हिँड्न आएको, मर्निङ वाक, इभिनिङ वाक भन्छन्,’उनले भने,’जे जति बहाना बनाए पनि अहिलेको अवस्थामा घरभित्रै सुरक्षित छन्।’ यसअघि लखरलखर हिँड्नेलाई प्रहरी सम्झाइबुझाइ गरेर घर पठाउने वा केही घण्टा नियन्त्रणमा लिने गरेको थियो।

मंगलबार दिउँसो दुई बजेसम्म काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्ने १८ सयलाई प्रहरीले नियन्त्रणमा लिएको परिसरले जनाएको छ।त्यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि कडाइ गर्न थालेको एसएसपी भीम ढकालले जानकारी दिए। ट्राफिक प्रहरीले भने तीन सय ६५ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। तीमध्ये ४८ वटा चार पाङ्ग्रे रहेको महाशाखाले जनाएको छ।

Related Articles

Back to top button
Close