News

ललितपुरमा बन्ने भयो पाँचतारे लक्जरी होटलसहितको अपार्टमेन्ट, एउटै फ्ल्याटको मूल्य ३० करोडसम्म ! निर्माण सुरु नहुँदै ५० प्रतिशत अपार्टमेन्ट बुकिङ

काठमाडौं । ललितपुरको कुपण्डोल हाईटस्थित समिट होटल भएको ठाउँमा पाँचतारे लक्जरी होटलसहितको अपार्टमेन्ट असोजदेखि निर्माण सुरु हुने भएको छ । धनाढ्य एलिट वर्गलाई टार्गेट गरिएको सुविधा सम्पन्न अपार्टमेन्ट निर्माण सुरु नहुँदै करीव ५० प्रतिशत बुकिङ भइसकेको बताइएको छ । यो अपार्टमेन्ट परियोजना नेपालमा बनेका अहिलेसम्मकै सुविधा सन्पन्न हुने दाबी गरिएको छ । त्यहाँ बसोबास गर्ने चाहना पुरा गर्नका लागि कम्तिमा ५ करोड रुपैयाँदेखि अधिकतम ३० करोड रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ ।

एलिट क्लासलाई टार्गेट गरेर निर्माण गर्न थालिएको पाँचतारे होटलसहितको अपार्टमेन्टलाई सुविधा सम्पन्न बनाउन कुनै कशर बाँकी नराख्ने समिट होटलका सञ्चालकहरुको अठोट छ । समिट होटलमा चौधरी समूह, एनई समूह र समिट समूहको लगानी छ । मुलुककै पुरानोमध्येको एक समिट होटलको पुरानो संरचना भत्काएर आधुनिक हाइराइज भवन निर्माण गर्न लागिएको छ । ‘द ससमिट होटल एन्ड रेसिडेन्सेस्’ नाम दिइएको भव्य परियोजना निर्माणको थालनी असोजदेखि सुरु हुने बताइएको छ ।

समिट होटलको ठाउँमा मुलुककै सबैभन्दा सुविधा सम्पन्न हुने अपार्टमेन्ट र होटल निर्माण गर्न लागेको सञ्चालकमध्येका एक एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठले जानकारी दिए । यो परियोजनामा १२० वटा सुविधा सम्पन्न अपार्टमेन्ट निर्माण हुनेछन् जसमध्ये ९६ वटा रेसिडेन्सियल र २४ वटा सर्भिस अपार्टमेन्ट हुनेछन् ।

उनका अनुसार, सर्भिस अपार्टमेन्टलाई होटलका रुपमा प्रयोग गरिने छ जुन लामो समय बस्ने पाहुनाहरुका लागि उपयुक्त हुनेछ । होटल र सर्भिस अपार्टमेन्टमा विश्वका खर्चालु पर्यटक भित्र्याउने सञ्चालकको लक्ष्य छ । अपार्टमेन्ट निर्माण सुरु नहुँदै धनाढ्य वर्गको ध्यान तानिन थालिसकेको छ । यो अपार्टमेन्टमा बस्नका लागि धेरैले चासो देखाएको श्रेष्ठको भनाइ छ। त्यसैले त निर्माण सुरु नहुँदै ५० प्रतिशत अपार्टमेन्ट बुकिङ भइसकेको छ ।

अपार्टमेन्टमा ग्राहकको चाहनालाई प्राथमिकता दिइने छ । सञ्चालकहरुले ग्राहकको चाहान बमोजिम अत्याधुनिक सुविधा सम्पन्न अपार्टमेन्ट तयार गरिदिनेछन् । ‘ग्राहकहरुले कति क्षेत्रफलमा के–कस्ता सुविधाहरुसहितको अपार्टमेन्ट बनाउन चाहन्छन् हामीले त्यस्तै सुविधासहितको अपार्टमेन्ट बनाइदिने छौं’ अर्का सञ्चालकले भने, ‘हामी यो होटल र अपार्टमेन्ट परियोजनामार्फत निर्माण क्षेत्रमा नयाँ बेञ्चमार्क पनि खडा गर्न गइरहेका छौं ।’ थुप्रै सेवा सुविधाहरु उपभोग गर्न पाइने भएको हुनाले अपार्टमेन्टको मूल्य पनि अलिक चर्को नै हुनेछ । ग्राहकले जतिसुकै मूल्य तिरेपनि अपार्टमेन्टमा बसोबास गरेपछि सो मूल्य बराबरको सुविधा पाउने सञ्चालकहरुको दाबी छ ।

मुलुककै लक्जरियस होटल – ०७१ चैतमा सञ्चालकहरुले समिट होटललाई मुलुककै उत्कृष्ट बुटिक होटलमा रुपान्तरण गर्ने घोषणा गरेका थिए । तर, ७ बर्षपछि सञ्चालकहरु बुटिक होटल होइन, आधुनिक लक्जरिय होटलसहितको अपार्टमेन्ट निर्माणमा कस्सिएका छन् । यो होटल मुलुकको अहिलेसम्मकै लक्जरियस हुने श्रेष्ठको भनाइ छ । विश्वका धनाढ्य पर्यटक नेपालमा आकर्षित गर्ने गरी होटल निर्माण थालनी गर्न लागिएको हो ।

होटलको व्यवस्थापनमा पनि लक्जरीय ब्रान्ड भित्र्याउने तयारी भइरहेको छ जुन अहिलेसम्मकै प्रिमियम क्लसको हुनेछ । पाँचतारे लक्जरियस होटलमा सुविधा सम्पन्न १३० कोठाहरु हुनेछन् । र, २६ वटा अपार्टमेन्ट ।निकै महत्वाकांक्षासहित अगाडि बढाइएको यो परियोजना सन् २०२५ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । परियोजनाको डिजाइन पनि तयार भइसकेको छ ।

सिंगापुरको आर्किटेक्चरल कम्पनी मेनहार्डट इन्फ्राष्ट्रक्चर पीटीई लिमिटेडले ‘द समिट होटल एन्ड रेसिडेन्सेस्’को आर्किटेक्चरल डिजाइन तयार पारिसकेको छ । यो परियोजना निर्माण गर्नका लागि करीव ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको श्रेष्ठले जानकारी दिए । नेपालहोम्स बाट-काठमाडौंको रैथाने नेवारी आर्किटेक्चर डिजाइनमा आधुनिक डिजाइन फ्युजन गरेर परियोजना निर्माण गरिने भएको छ ।

अहिले भइरहेको समिट होटलको सम्पूर्ण भाग भत्काएर नयाँ संरचना निर्माण गर्न लागेको श्रेष्ठले जानकारी दिए । यो परियोजनामा स्काई गार्डेन, होटल रुफ गार्डेन, ठूलो क्षेत्रफलमा फैलिएको रुफटप स्वीमिङ पुल, रेसिडेन्स रुफटप लगायत हुनेछन् । होटलभित्र छिर्ने बित्तिकै कुनै विकसित मुलुकको भव्य होटलभित्र प्रवेश गरेको अनुभूति हुनेछ । होटलमा हजार/बाह्र सय जना अटाउने विशाल ब्यांक्वेट हल पनि हुनेछ । यो परियोजना २० रोपनी क्षेत्रफलमा फैलिने छ ।

Related Articles

Back to top button