News

कोरोना उपचारमा खटिनुभएकी गर्भवती नर्सको व्यथा, नेपालको पीर लाग्छ

कोरोना भाइरस रोगको महामारी विश्वका २ सय १३ वटा देशमा फैलिसकेको छ । अमेरिकामा कोरोनाबाट भएको निधन र संक्रमण दुबै उच्च छ । अमेरिकापछि इटाली र स्पेनमा मानवीय क्षति अधिक छ । अहिलेको समयमा चिकित्सक, नर्स, प्राविधिक लगायतका स्वास्थ्यकर्मी तथा अन्य सहयोगीहरु आफूलाई जोखिममा राखेर संक्रमितलाई बचाउन लागि परिरहेका छन् । उनीहरुको त्याग र पेशाप्रतिको समर्पणको जति प्रशंसा गरे पनि थोरै नै हुन्छ ।

संक्रमण फैलिएका धेरैजसो देशहरुमा नेपाली चिकित्सक, नर्सहरु कार्यरत छन् र बर्तमान विषम परिस्थितिमा आफ्नो पेशामा समर्पित भई डटेर अग्रस्थानमा रही कोरोना संक्रमितहरुको उपचारमा लागिरहेका छन् । अस्पतालमा उपचार गर्दागर्दै संक्रमितको मृत्यु देख्नु त उनीहरुको दैनिकी जस्तै भइसक्यो । पछिल्लो समय तिब्र संक्रमण देखिएको देशमा बेलायत पर्दछ । हेल्थपाटी डटकमका लागि तुलसा घिमिरेले बेलायतमा कोरोनाका बिरामीको उपचार गरिरहेकामध्ये दुई जना नेपाली नर्ससँग कुरा गरि लेख्नुभएको उहाँहरुको अनुभव :

तुलसा जोशी, रजिष्टर्ड नर्स

मेरो घर नयाँ बानेश्वर हो । नेपाल छँदा ट्रमा सेन्टर र मध्यपुर अस्पतालमा काम गरेँ । म बेलायत आएको ४ वर्ष भयो यहाँ नर्थवीक पार्क हस्पिटलमा कार्यरत छु । केहि हप्ता अघिसम्म अस्पताल जाँदा अनुहारमा हाँसो लिएर जान्थेँ, म बिरामीसँग कुरा गर्थेँ उनीहरुको पीडासँगै बसेर कम गर्न कोशिस गर्थेँ तर अहिले बिरामीले नै नचिन्ने रुपमा बिरामी माझ जानुपर्छ । न बिरामीसँग धेरैबेर बस्न पाइन्छ न उनीहरुसँग बोल्न नै पाइन्छ ।

बिरामीले हामीलाई चिन्दैनन् उनीहरुको नजिक जाँदा पीपीई लगाएर जान्छौँ । उनीहरुलाई हामीले नै औषधि खुवाउने हो । दीर्घ रोगी हुनुहुन्छ भने उनीहरुलाई उच्च निगरानीमा राख्नुपर्दछ । दिनको कम्तिमा ६ जना कोरोनाका बिरामीको हेरचाह गर्नुपर्छ । साढे १२ घण्टा त खट्नैपर्छ । आफू सुरक्षित भई आत्मविश्वास बढाई बिरामीको कक्ष जाने गर्छु ।

म ५ महिनाकी गर्भवती हुँ : पीपीई लगाउदै गर्दा म सोच्ने गर्छु मेरो अहिलेको प्राथमिकता के हो ? म अहिले ५ महिनाकी गर्भवती छु अहिले के जरुरी हो जस्ता अनेकाैँ प्रश्नले घेर्ने गर्छ तर म त्यही बिरामी छटपटिरहेको, आफन्तले भेट्न नपाउँदाको पीडालाई देख्छु र सम्झन्छु मेरो कर्तव्य बिरामीको सेवा गर्नु नै हाे । यतिबेला आफू सुरक्षित भएर बिरामीको सेवा गर्नुनै आफ्नो धर्म हो र अरु स्वास्थ्यकर्मीले पनि यो कुरालाई मनन गरिरहनु भएको छ । बिरामीलाई हेरेर पीपीई खोल्ने बेला शरीरभरी पसिना नै हुन्छ । पीपीइ लगाउन र लगाइसकेपछि खोल्दा हुने सानो गल्तिले पनि संक्रमण हुने सम्भावना उच्च हुने भएकाले हामीले यसमा विशेष ध्यान दिनुपर्छ । मास्क खोल्दा अनुहारमा गहिरो दाग बस्छ तर यो दागलाई बिरामीको सम्झनाले मेटिदिन्छ ।

आफन्तले भेट्न पाउँदैनन्, बिरामी न्याउरिन्छन् : यसअघि म स्ट्रोक युनिटमा काम गर्थेँ तर अहिले अस्पतालहरुमा अत्यावश्यक अवस्थामा बाहेक अरु रोगका बिरामीहरु आउँदैनन् । कोरोनाका बिरामीले बेडहरु भरिन्छन् । बिरामीलाई धेरै गाहो भयो भने मात्र विशेष उपचारका लागि अर्काे वार्डमा सारिन्छ । आफन्तले बिरामी भेट्न पाउँदैनन्, मृत्यु भइहालेमा छुन पाउँदैनन् त्यो समय एकदमै नराम्रो लाग्छ ।

नेपालको याद आउँछ, पीर लाग्छ : यो रोग विश्वकै लागि नयाँ छ । उमेर, वर्ग, समुदायलाई हेर्दैन । त्यसैले अरु बेलामा जस्तै आत्मबल बढाएमा समयमा नै निको हुन्छ । मेरो श्रीमानलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना परीक्षण गरिएकोमा नेगेटिभ आयो । हामी कत्ति पनि आत्तिएनौ आइसोलेसनमा छुट्टै बस्यौ ।

नेपालमा पनि क्वारेन्टाइन, आइसोलेसनलाई विशेष जोड दिनुपर्छ नागरिकले पनि बुझ्न जरुरी छ । आफूलाई लक्षणहरु देखिए लुकाउन हुँदैन । सरकारले अस्थायी कोरोना अस्पतालको निर्माण गर्नुपर्छ, पीपीइको पर्याप्त व्यवस्था गर्नुपर्छ, अक्सिजन भेन्टिलेटर निकै महत्वपूर्ण छ यसको व्यवस्था गरिनुपर्छ । सकेसम्म अन्य बिरामी र कोरोना बिरामी एकै अस्पतालमा राख्नुहुँदैन ।

इन्दिरा बस्याल तिवारी, रजिष्टर्ड नर्स

म बेलायत आएको १३ वर्ष भयो तर मैले यहाँ नर्सिङ पेशामा आवद्ध भएको ४ वर्ष मात्रै भयो । घर चितवन हो । नेपालमा सन् १९९६ मा नर्सिङ पास गरेकी हुँ । लुटन र डन्स्टेबल विश्वविद्यालय अस्पतालमा कार्यरत छु । कोरोनाको महामारी सुरु हुनु अगाडि म इण्डोस्कोपी विभागमा थिएँ तर अहिले म कार्यरत अस्पतालमा पनि कोरोनाका बिरामीहरु अधिक हुने भएकाले मैले पनि वार्डमा कोरोनाका बिरामीको उपचार गर्नुपर्छ ।

बिरामी बोल्नै सक्दैनन्, खाना खुवाउनुपर्छ: मेरो वार्डमा विशेषगरि युवा उमेरका संक्रमितहरु हुन्छन् तर कहिलेकाहीँ बृद्द बृद्दाहरु पनि हुन्छन् । मैले बिरामीहरुलाई औषधि खुवाउने, खाना खुवाउने तथा बेड मिलाउने गर्नुपर्छ । मेरो वार्डमा संक्रमितहरु बोल्नै नसक्ने अवस्थामा आइपुग्छन् तर अवस्था सामान्य हुन्छ । धेरै गाह्राे भएमा आइसीयूमा लगिन्छ ।

बिरामीहरु बोल्न खोजिरहेका हुन्छन् तर आवाज नै आउँदैन । आफू सुरक्षित भई पीपीई लगाएर बिरामीको अवस्था हेर्नेगर्छु । अरु बेला अस्पतालमा बिरामीका आफन्तहरु आउनेजाने चलिरहन्थ्यो एक आपसमा आत्मबल बढ्थ्यो तर अहिले त आफन्तले भेट्न मिल्दैन । आफन्तहरु रुँदै सिसैबाट भए पनि हेर्न पाइन्छ कि भनेर आउँछन् तर मिल्दैन । त्यतिबेला म एकदम दुखी हुन्छु । उनीहरुको पीडा मैले बुझेको हुन्छु सारै पीडा हुन्छ मलाई पनि । पीपीई नलगाई बिरामीको कक्ष जान हुँदैन र गएपछि त्यहाँ धेरैबेर वस्न पनि हुँदैन ।

भन्ने बित्तिकै विरामीको नजिक जान पाइँदैन : हामी पनि बाहिर सिसाबाटै नै निगरानी गरिरहन्छौँ । गाह्राे भएको थाहा पाइए पनि भन्ने बित्तिकै भित्र छिर्न मिल्दैन । बिरामीलाई सकस भइरहेको हुन्छ पीपीईको अभाव यहाँ पनि छ । पीपीइए नभएको बेला भन्ने बित्तिकै छिर्न मिल्दैन र भएको खण्डमा केही समय पीपीई लगाउँदा जान्छ । अरु बेलामा जस्तो हत्तपत्त बिरामीको उद्दार गरिहाल्ने अवस्था छैन । किनकी आफू सुरक्षित रहन पीपीई लगाउनै पर्छ । दिनमा कम्तिमा ५–७ पटक बिरामीको अवस्था बुझ्न जानुपर्छ । यहाँ पनि पीपीइको अभाव छ तर आवश्यकता र अवस्था हेरेर पीपीइको प्रयोग गर्ने गर्छु ।

घरमा आइसोलेसनमा बस्छु : तीन हप्ता जति भयो म घरमा छुट्टै बसिरहेकी छु । निकै गर्व महसुस गरिरहेको छु यस्तो कठिन समयमा बिरामीको सेवा गर्न पाएको छु । विरामीको पीडालाई नजिकैबाट नियाल्ने मौका पाएको छु । आफ्नो क्षमता प्रदर्शन गरिरहेको छु उच्च मनोबलका साथ बिरामीको उपचारमा खटिएको छु । मनलाई शान्त पार्न भागवत् पढ्ने गर्छु ।

अस्पतालको माहौलले निकै तनाव बनाएको हुन्छ । घरमा आएपछि आफूलाई शान्त पार्न भागवत् गीता पढ्ने गर्छु, योग ध्यान बस्ने गर्छु अनलाइन प्रवचन सुन्छु, सकारात्मक सोचाइ बढ्ने भिडियोहरु हेर्ने गर्छु । हार्माेनियम बजाउँछु र त्यसै मार्फत शोकाकुल परिवारमा शान्तिको सन्देश पठाउँछु । यसो गर्दा म आफै भावुक हुन्छु तर आफ्नो कर्तव्य वहन गर्नैपर्छ । फेरि म अर्काे युद्धमा तयार हुन्छु जहाँ दिमाग, हृदय र हातले एकैसाथ काम गर्छन् । कहिलेकाहीँ करुणाले जित्ने कोशिश गर्छु तर विवेकले त्यसलाई समात्ने प्रयत्न गर्छु । अवस्था गम्भीर छ कोरोनाको लडाइँ जित्छौँ भन्ने आत्मविश्वास लिएकी छु ।

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्लो २४ घण्टामा १२ हजार १ सय ७ सय ७८ जनाको निधन भयो । यो सँगै मंगलबार बेलुकासम्म बेलायतमा निधन हुनेको संख्या १२ हजार १ सय ७ पुगेको छ भन ९३ हजार ८ सय ७३ जनामा संक्रमणको पुष्टि भएको छ ।

Related Articles

Back to top button
Close