News

ललितपुरमा भेटियो कपनको ढलमा परेका १० वर्षीय उज्ज्वलको शव

काठमाडौ । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका बालकको पहिचान खुलेको छ । उनी १० वर्षीय उज्ज्वल विक रहेको खुलेको हो । स्थानियको सहयोगमा प्रहरीले खोजी पछि उनको शव समेत फेला परेको छ ।

कपनको ढलमा खसेका बालकको शव ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा फेला परेको हो । उनी गएको मंगलवार कपन स्थित ढलवाट खसेका थिए । गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसे पछि खोजी थालिएको थियो । त्यती बेला उनको पहिचान पनि खुलेको थिएन ।

ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

उनका आफन्तले बालकको पहिचान गरेका छन् । शनिबार साँझ स्थानीयले शव बागमती नदी किनारमा देखेका थिए। ‘उनको अनुहार चिन्न नसकिने अवस्थामा थियो । तर उनले लगाएको लुगावाट पहिचान खुलेको हो । उनले कपन मावि लेखेको लुगा लगाएका थिए ।

कपनस्थित खहरे खोलाले काठमाडौं महानगरपालिका– ६ र बुढानीलकण्ठ नगरपालिका– १२ को सीमा छुट्याउँछ। विगतमा यसलाई स्थानीय स्यालमती र चुखुँचा पनि भन्थे। ०५६ मा खोला मासेर ४८ इन्चको ह्युमपाइप बिछ्याइयो। त्यसमाथि कालोपत्रे सडक बनाइयो। खोला किनारका जग्गाले सुनको भाउ पायो। केही वर्षमै गगनचुम्बी भवन पनि ठडिए।

घरको ट्वाइलेटबाट निस्किएका फोहोर ह्युमपाइपमा मिसाइयो। बस्ती बाक्लिएसँगै ह्युमपाइपको ढल सानो भयो। बर्खामा थेग्न नसकेर ढल फुट्न थाल्यो। बागमती प्रदेशअन्तर्गतको सिँचाइ आयोजनाले दुई वर्षदेखि यो सडक ढलान गर्दै छ। आयोजनाले झन्डै करोड रुपैयाँ खर्च गरिसकेको छ। तर, ढलको सुधार अझै भएको छैन। मंगलबार साँझ त्यही ढलमा खसेर अबोध बालक बेपत्ता भएका थिए।

सेतो पाटीका अनुसार अजय कुइँकेल बुढानिलकण्ठ नगरपालिका-१२, कपनको मिलन चोकमा बस्छन्। उनी त्यहीँ हुर्किएका हुन्। दिउँसो एउटा सहकारीमा जागिर खान्छन् र साँझपख बुवाको ‘कुमार बेकरी एन्ड डेरी पसल’ मा बस्छन्। मंगलबार राति उनी सधैंझैं पसलमा बुवालाई सघाउँदै थिए। बाहिर झमझम पानी पर्दै थियो।

अजयको घरअगाडि एउटा बाटो छ जहाँ कुनै समय खहरे खोला बग्थ्यो। यही खोला काठमाडौं-६ र बुढानिलकण्ठ-१२ को सिमाना पनि हो। बढ्दो सहरीकरणले नदीखोला मिच्दै जाने क्रममा कपनको यो खहरे खोलामाथि ग्राभेल बाटो बन्यो र बाटोमुनि खोलाको पानी पठाउन ह्युम पाइप राखियो।

ग्राभेल गरिएको बाटो जुन ठाउँमा पुगेर ढलान सडकसँग जोडिन्छ, त्यहीँनिर बीच बाटोमै धेरै दिनदेखि ढल ह्वांगै छ। झमझम वर्षा हुँदा यो ह्वांग ढलमा पानी बढेर बाटो जलाम्य हुन्छ। घर-घरमा पानी पस्छ। मंगलबार पनि पानी बढेर घुँडासम्म आएको अजय बताउँछन्। ‘पानी घट्ने छाँट नदेखेपछि मैले पसलबाहिर टाँगिएका सामान हतारहतार भित्र थन्क्याएँ, अनि पसलबाट बाहिर हेर्दै बसेँ,’ उनले भने, ‘यस्तो बेला मलाई ह्वांग परेको ढलमा कोही खस्छ कि, बाइक दुर्घटनामा पो पर्छ कि भन्ने चिन्ता लागिरहन्छ।’

त्यत्तिकैमा अन्दाजी १० वर्षको बालक पानीमा रुझ्दै, उफ्रिँदै, नाच्दै आयो। ऊ आफ्नै सुरमा थियो। बच्चालाई त्यसरी हुत्तिँदै आएको देखेपछि अजयलाई डर लाग्यो। उनी पसलबाटै आत्तिँदै कराए, ‘भाइ… पख पख… एकछिन पख।’ उनी चिच्याएको सुनेर वरिपरि पसलका मान्छे हेर्न आए। तर एक सुरमा रमाउँदै दौडिरहेको बालकले अजय कराएको सुनेन वा वास्ता गरेन। ऊ हेर्दाहेर्दै ढलमा खस्यो।

‘त्यो भाइले ठूलो मान्छेले भनेको किन मान्नु भन्ठान्यो कि! बाटोमा पानी जमेको होला, म त्यही पानीमा छप्ल्यांग गर्दै उफ्रिन्छु पो भन्ठान्यो कि!’ बालकलाई ढलमा खसेको प्रत्यक्ष देखेका अजयले भने, ‘पख भाइ पख भन्दाभन्दै ऊ ढलमा खसिहाल्यो। सबैतिर पानी जमेकाले कहाँ ढल हो, कहाँ बाटो भन्ने पनि राम्ररी देखिएको थिएन।’बालक ढलमा हराएपछि वरिपरिका सबै नजिक गए तर बचाउन सकेनन्।

Related Articles

Back to top button