News

चीनबाट स्वास्थ्य सामग्री लिएर काठमाडौँ आइपुगे दुई वाइडबडी जहाज

काठमाडौँ, ५ वैशाख / चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् ।व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए । दुवै जहाज केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । के–कति परिणाममा सामग्री ल्याइयो भन्ने खुलेको छैन ।

अबको एक घण्टामा जहाजमा रहेका स्वास्थ्य सामग्री निकालिनेछ ।चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । (रासस)

त्यस्तै सर्वोच्च अदालतले विदेशमा अत्यन्त जोखिम अवस्थाका नेपालीलाई उद्धार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज विदेशमा रोजगारीका लागि भएका नेपालीलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्धारका लागि पहल गर्न अन्तरिम आदेश जारी गरिएको छ ।“वैदेशिक रोजगारीमा रहेर अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमबाट संरक्षण गर्न नागरिकको व्यक्तिगत अधिकार तथा बहुसङ्ख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्नुपर्छ”, आदेशमा भनिएको छ ।

सुक्ष्म, गम्भीर एवं संवेदनशील तरिकाले विनाभेदभाव, विनास्वेच्छाचारी, विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने उद्धारका लागि आवश्यक प्रशासनिक, आर्थिक व्यवस्थापकीय पहल गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

कोरोना प्रभावित महामारी फैलिएका मुलुकमा वैदेशिक रोजागरीमा रहेका नेपालीलाई राजदूतावास वा श्रम सहचारीमार्फत कोरोना सङ्क्रमित नेपालीको स्वास्थ्यस्थिति प्रतिवेदन तत्कालै तयार गर्न लगाई विश्वस्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम भेदभावरहित तरिकाले प्राप्त गर्न परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक सञ्चार र समन्वय गर्न आदेशमा भनिएको छ ।

Related Articles

Back to top button
Close