जसले दैनिक खुवाइरहेछन् अलपत्र यात्रुलाई निःशुल्क खाना, यी दम्पती प्रचारमा आउन चाहेका थिएनन्
काठमाडौं। यो कोरोना महामारीबीच हामीले व्यापारीले भएका सामानसमेत लुकाएर कालोबजारी गरेको समाचार पनि सुन्यौं। विपत्ति परेका बेला एकले अर्काेलाई सहयोग गर्नु त परै जाओस् यही हो मौका भन्दै सकेसम्म फाइदा लिने र ठग्ने मानव प्रवृत्ति छ। यस्तो बेला कसैले कसैलाई निःस्वार्थ मनले सहयोग गर्लान् भनेर कल्पना गर्न कठिन छ। तर सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ९, सुखेपोखरीमा फरक दृश्य देखिएको छ। पूर्वपश्चिम राजमार्गसँग जोडिएको मैनाली परिवारको एउटा घरमा लकडाउनका कारण बेखर्ची बनेका यात्रुलाई सित्तैमा दैनिक भोजन गराउने गरिएको हो।
वडाध्यक्ष सीताराम पोखरेलका अनुसार स्थानीय अर्जुन मैनालीको दम्पतीले काठमाडौंलगायत विभिन्न स्थानबाट पैदले आफ्ना गन्तव्यतर्फ गइरहेका यात्रुलाई निःशुल्क खाना खुवाउने गरेका हुन्। ‘मैनाली र उनकी पत्नी अम्बिका उप्रेती मिलेर बेखर्ची बनेर बाटामा हिँडिरहेका यात्रुलाई दैनिक खाना पकाई खुवाइरहेका छन्,’ वडाध्यक्ष पोखरेलले जानकारी दिँदै भने, ‘अहिलेको यो स्वार्थी जमानामा पनि उनीहरूको उपकार देखेर म चकित छु।’ उनका अनुसार लकडाउन लागूभएयतोखि नै मैनाली दम्पतीले त्यसरी बेखर्ची बनेका यात्रुलाई खाना खुवाइरहेका छन्।
खाना पनि बासमती चामलको खुवाइरहेका छन्,’ वडाध्यक्ष पोखरेलले भने, ‘आज आफैं गएर हेरेर आएँ र फोटो खिचें।’ उनका अनुसार आफूले तिस्बर लिन खोज्दासमेत मैनाली दम्पतीले आफूहरू प्रचारमा आउन नचाहने भन्दै मानेका थिएनन्। तर पछि सम्झाइबुझाइ गरेपछि मात्रै तस्बिर खिच्न दिएको वडाध्यक्ष पोखरेलले बताए। वडाध्यक्ष पोखरेलले उनीहरूको त्यो तस्बिर आफ्नो फेसबुकमा सेयर गरेका छन्। र, लेखेका छन्, ‘यी हेर्नुहोस् त! २५ दिनदेखि यी दुईले कोरोनाको लकडाउन भएर आफ्नो घरतर्फ फर्केका बेखर्ची यात्रुलाई मसिनो चामलको भात, दाल, तरकारी, अचारसहित प्रेमपूर्वक भोजन गराएर मानव सेवा गरिरहेका छन्।’
पोखरेलले अगाडि लेखेका छन्, ‘यी समाज सेवकहरूलाई न आफ्नो विज्ञापन चाहिएको छ, न फेसबुकमा छाउनु पेरेको छ। मात्र मानव धर्मको भावना छ।’ उनीहरू जीवन अस्पतालका सञ्चालक हुन्। त्यही अस्पतालको क्यान्टिनमा खाना खुवाएर बेखर्ची यात्रुको सेवा गरिरहेको वडाध्यक्ष पाेखरेलले बताए।(नेपालखबर)