News

बैशाख १५ पछि पनि लकडाउन थपिने संकेत

काठमाडौँ । लकडाउनको अवधि एक महिना पुग्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १५ पछि पनि लकडाउन जारी रहने संकेत गर्नुभएको छ। कोरोना भाइरस सङ्क्रमण फैलन नदिन लकडाउन (बन्दाबन्दी) सबैभन्दा प्रभावकारी विधि भएको बताउँदै प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र लकडाउन अन्त्य गरिने बताउनुभएको हो। प्रधानमन्त्री ओलीले शनिबार साँझ सरकारी सञ्चारमाध्यामसँग विशेष अन्तर्वार्ता दिदै लकडाउन बैशाख १५ पछि पनि थपिने संकेत गर्नुभएको बताइएको छ।

कोरोना निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने र भारतमा सङ्क्रमणको स्थिति नहेरी सीमा पनि खोल्न नसकिने बताएको आइतबारको गोरखापत्र दैनिकले लेखेको छ। सरकारले समयमै लकडाउन, सीमाबन्द र नागरिकमा जनचेतना लगायतका विधि अपनाई काम गरेकाले कोरोना भाइरस सङ्क्रमणले नेपालमा विकराल रूप लिन नपाएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब यसले हामीलाई झुक्याउन सक्दैन। ” कोरोना भाइरस विश्वमा डढेलोझैँ फैलिइरहेको अवस्थामा यसको सङ्क्रमणबाट नेपालमा कसैले पनि जीवन गुमाउन नपरोस् भनी सरकारले पर्याप्त सतर्कता अपनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसको नियन्त्रण, रोकथाम र उपचारमा सफलतापूर्वक अगाडि बढिरहेको बताउनुभयो।

उहाँले लकडाउनका कारण यस वर्ष मुलुकको अर्थतन्त्रमा नराम्रो असर परे पनि अर्को वर्ष सुधार गर्न सकिने भएकाले मानव जीवन रक्षा पहिलो प्राथमिकता हुने बताउनुभयो। लकडाउन नभएका देशमा बर्बादी भएको र भएका ठाउँमा सङ्क्रमण कम भएकाले विश्वस्तरमै यस्तो उपाय अपनाइएको बताउँदै उहाँले प्रभावकारी यो विधि अपनाइएको विषयलाई अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोड्न नहुने बताउनुभयो।

सिमानामा आएका नागरिकलाई प्रधानमन्त्रीको प्रश्न, दशगजामा किन आएको ? विश्वमा कोरोना निर्मूल नभएसम्म प्रवेशद्वार खोल्ने विषयप्रति सरकार सतर्क रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नाकामा नेपाली नागरिकले दुःख पाए भनेर भावुक कुरा गर्न नहुने बताउनुभयो।

गोरखापत्रका अनुसार ओलीले भारतका विभिन्न स्थानबाट स्वदेश फर्किन चाहेका र सीमापारि नै क्वारेन्टाइनमा राखिएका नेपालीलाई भारत सरकारले होटलमा राख्न खोज्दा दसगजामा जम्मा हुनुलाई अलपत्र भन्न नमिल्ने बताउनुभयो।

‘भारतले होटलमा राख्छु, खान दिन्छु भन्दाभन्दै यता दशगजामा आएर लम्पसार हुने, बेइज्जत गर्ने?’ कोरोना साम्य भएपछि कोरोनारहित भएर मात्र सिमा क्षेत्र नजिकै क्वारेन्टाइनमा बसेका नेपालीहरु घर फर्किन पाउने प्रधानमन्त्रीले बताउनुभयो।

Related Articles

Back to top button
Close