News

पशुपतिनाथ मन्दिर अब खुल्ला हुँदै, दर्शनगर्न जाने भक्तजनले अपनाउनुपर्नेछ यस्तो नियम

काठमाडौं, १२ असार । कोरोनाका कारण लागू भएको लकडाउनका कारण बन्द भएको पुजा पशुपतिनाथ मन्दिरमा अब सुचारु हुने भएको छ । लकडाउन भए देखि नै मन्दिरमा भक्तजनलाई प्रवेशमा रोक लगाइएको थियो । अब पशुपतिनाथ मूल मन्दिरमा पूजाको व्यवस्था मिलाउने तयारी गरिएको बताइएको छ ।सरकारले मठ मन्दिरलाई खुला गरेपछि भक्तजनलाई सुरक्षित तरिकाले दर्शन गराएर फर्काउनका लागि कार्यविधि बनाएर तयारी थालिएको पनि कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

मन्दिर खुलेपछि स्वास्थ्य सचेतना अपनाउदै भक्तजनलाई मन्दिर दर्शनको ब्यवस्था मिलाइने छ । भक्तजनलाई सरकारले तोकेअनुसारको दूरीमा राख्ने, पर्याप्तमात्रामा स्वयंसेवक खटाउने, चन्दन पातमा राखेर दिने निधारमा नलगाइदिनेलगायत व्यवस्था गर्न लागिएको कोषले जनाएको छ ।

आगामी असार २१ गतेदेखि मठ मन्दिर एवं सार्वजनिक यातायात दूरी कायम गरेर सेवा सञ्चालन गर्ने गरी खुला हुनसक्ने भएकाले त्यसैअनुसार तयारी गरिएको छ ।असार १ गतेदेखि पशुपति क्षेत्रको सरसफाइका लागि सफाइकर्मीलाई विशेषरुपमा परिचालनसमेत गरिएको छ । चैत ११ गतेदेखि जारी लकडाउनका क्रममा पशुपति क्षेत्रको सबैतिर सफाइ हुन नसकेको गुनासो स्थानीयवासीबाट आएको थियो ।

असार १ गतेदेखि लकडाउन खुकुलो बनाइए पनि मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात भने खोलिएको छैन । पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि महत्वको मन्दिर हो । विश्वभरका हिन्दुधर्मावलम्बीहरु पशुपतिनाथ मन्दिरको दर्शनका लागि आउँछन् । अहिले लकडाउनका समयमा भने मन्दिर बन्द भएका कारण दर्शनार्थी पुग्न सकेका थिएनन् । यातायात र हवाई साधन बन्द भएका कारण पनि धार्मीक पर्यटनमा ह्रास आएको छ ।

Related Articles

Back to top button
Close