News

आन्तरिक उडान खुलाउने र लकडाउन खुकुलो बनाउने सरकारको तयारी

काठमाडौं, बैशाख १३-कोरोना संक्रमण जोखिम रोकथामका लागि लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने भएपछि सरकारले आन्तरिक उडानमा मापदण्ड बनाएर खोल्ने तयारी गरेको छ। नागरिक उड्डयन प्रधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार कोरोनाको जोखिम कम हुँदै जाँदा लकडाउन लगायत उडानसमेत खुला गर्दा अपनाउनुपर्ने मापदण्डबारे छलफल भइरहेको जानकारी दिए।

प्राधिकरणले पर्यटन मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वायु सेवा सञ्चालक संघको समन्वयमा मापदण्ड तयार गर्न लागेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। आन्तरिक उडान खुला गर्ने मिति भने तय भइसकेको छैन। तैपनि आन्तरिक उडानलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको पोखरेलले बताए।

त्यस्तै सरकारले १५ वैशाखपछि पनि लकडाउन लम्ब्याउने निश्चित भएको छ । केही जिल्लामा भने लकडाउनको ढाँचा परिवर्तन गर्नेबारे छलफल अघि बढेको छ ।संक्रमण विस्तार हुँदै गएकाले लकडाउन अझै केही हप्ता लम्बिने कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिमा रहेका एक मन्त्रीले बताए । बिहीबारको मन्त्रिपरिषद्को बैठकमा संक्रमण नदेखिएका जिल्लामा उच्च सतर्कता अपनाएर केही व्यवसाय तथा विकास निर्माणका काम सुचारु गर्न सकिनेबारे छलफल सुरु भएको छ ।

प्रधानमन्त्री केपी ओलीले भारतको अवस्था हेरेर मात्र नेपालमा लकडाउनबारे निर्णय हुने बताएका छन् । संक्रमण बढ्दै गएको भारतले २१ वैशाखसम्म लकडाउन तोकेको छ । नेपालमा पछिल्लो चार दिनमा १८ जनामा संक्रमण देखिएको छ । संक्रमण तेस्रो चरणमा पुगेकाले जोखिम बढिरहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

उपत्यकामा चारजनामा संक्रमण देखिएकोमा सबै निको भएर घर फर्किसकेका छन् । उच्चस्तरीय समितिले काठमाडौंमा अत्यावश्यकबाहेक थप केही उद्योग चलाउन दिने सकिनेबारे छलफल अघि बढाइएको छ ।

Related Articles

Back to top button