Entertainment

आफ्नै कमाईले काठमाडौंमा घर ठड्याउँदै पूजा

सन् २०१६ मा प्रदर्शनमा आएको फिल्म ‘प्रेमगीत’ भन्दा अगाडि अभिनेत्री पूजा शर्मालाई अपवादले मात्र चिन्थे । यो फिल्मभन्दा अगाडि उनले ‘थ्रि लभर्स’, ‘मधुमास’ र ‘चंखे शंखे पंखे’ फिल्ममा काम गरेकी थिइन् ।

तर, यी कुनै फिल्मले उनलाई अभिनेत्री रुपमा चिनाउन सकेका थिएनन् । सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेमगीत’ भने उनको करिअरको टर्निङ पोइन्ट सावित भयो ।

यो फिल्मबाट दर्शकको ठूलो वर्गमा आफूलाई चिनाउन सफल भएकी अभिनेत्री पूजाले त्यसपछि करिअर फर्केर हेर्नुपर्ने अवस्था सिर्जना भएको छैन ।

फिल्म ‘म यस्तो गीत गाउँछु २’ को सफलतापछि करिअरको उत्कर्षमा पुगेकी उनी अहिलेकी सर्वाधिक डिमान्डेड र महँगी अभिनेत्रीमध्ये एक हुन् । निर्माता तथा निर्देशकलाई के विश्वास छ भने उनको अनुहारले फिल्म विक्छ ।

‘प्रेमगीत’ पछि सुदर्शन क्याम्पभन्दा बाहिरका फिल्म नगरेकी पूजाले डेढ वर्षयता महँगो पारिश्रमिक बुझेर लगातार बाहिरी ब्यानरका फिल्ममा काम गरिरहेकी छन् ।

‘पोइ पर्‍यो काले’ मा उनले २० लाख पारिश्रमिक बुझेको बताइन्छ । त्यस्तै, ‘सम्हालिन्छ कहिले मन’ मा १५ लाख, ‘सम्झना विर्सना’ मा २० लाख र ‘मन परेसी’ मा उनले २५ लाख पारिश्रमिक लिएको चर्चा छ ।

‘रामकहानी’ अघिसम्म वर्षमा एउटाभन्दा बढी फिल्म नगर्ने पूजा अहिले हातमा आएका प्रोजेक्ट कुनै फुत्काइरहेकी छैनन् । आखिर किन ? धेरै यसको कारण जान्न इच्छुक छन् ।

बुझिए अनुसार, अहिले उनी ललितपुरको एकान्तकुनामा दोस्रो घर बनाइरहेकी छन् । लकडाउनको समयमा पनि उनको घर निर्माणको काम रोकिएको छैन । उनले तीन तल्लाको घर बनाउन लागेकी हुन् ।

मंगलवार पूजाले इन्स्टाग्राम स्टोरीमा घर निर्माणको एक भिडियो शेयर गरेकी छन् । दशैंभित्र उनी नयाँ घरमा सर्ने योजनामा रहेको जानकारी प्राप्त छ ।

उनले घर बनाउनकै लागि बाहिरी ब्यानरका फिल्ममा महँगो पारिश्रमिक लिएर काम गरिरहेको चर्चा छ । यद्यपि, यस विषयमा पूजाले मुख खोलेकी छैनन् । उनले कथावस्तु राम्रो लागेर फिल्ममा काम गर्ने गरेको बताउने गरेकी छन् ।

एकाध कलाकारलाई छाड्ने हो भने अरुलाई अभिनय गरेबापत प्राप्त हुने पारिश्रमिकले कोठा भाडा तिर्न पनि मुश्किल छ । यही कारणले कति फिल्म क्षेत्रमा करिअर सुरक्षित नदेखेर पलायन भइसकेका छन् ।

यहाँ अभिनयको कमाईले काठमाडौंमा घर-जग्गा जोड्ने कलाकार थोरै मात्र छन् । पूजाले अभिनय गरेको कमाईबाटै काठमाडौंमा दोस्रो घर ठड्याउँदैछिन्, खुसीको कुरा हो ।

Related Articles

Back to top button
Close