News

भिषण पहिरोले घर बगाउँदा पाहुना गएकासहित १२ जना बेपत्ता, एकजनाको लाश देखियो

काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोमा परेर जाजरकोटमा १२ जना हराएका छन् । यहाँको बारेकोट गाउँपालिका ४ सार्कीगाउँमा गएराति आएको पहिरोमा परि १२ जना बेपत्ता भएका हुन् । पहिरोले सार्कीगाउँका २ घर बगाउँदा पाहुना बस्न आएका ४ सहित १२ बेपत्ता भएको जानकारी दिइएको छ । पहिरोमा परेर बेपत्ता हुनेहरुमा ५२ वर्षीय घरमुली गोपाल सार्की, उनकी पत्नि ५० वर्षीया पुष्षा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की र ११ वर्षीय छोरा अर्जुन सार्की छन् ।

त्यस्तै अर्को घरमुली कलु सार्की, १४ वर्षीय छोरी तिर्खा सार्की, ११ वर्षीया छोरी कमला सार्की र ६ वर्षीय छोरा सुभास सार्की रहेका छन् । पहिरोमा परेर पाहुना बस्न आएका कुशे गाउँपालिका ९ चौराँटाका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय बीरेन्द्र सार्की पनि बेपत्ता भएका छन् ।

पहिरोमा परेका मध्ये १ जनाको लाश देखिएको तर पहिरोबाट निकाल्न नसकिएको जाजरकोटका प्रहरीले जानकारी दिएको छ । लाशको सनाखत हुन सकेको छैन । प्रहरी घटनास्थल पुगेर बेपत्ताको खोजी गर्दैछ । प्रहरी चौकी सिलिङ्गचौरको प्रहरी टोली घटनास्थल पुगेको जनाइएको छ ।

अर्को तर्फ इलाका प्रहरी कार्यालय बारेकोट र प्रहरी चौकी लिम्साबाट पनि प्रहरीटोली घटनास्थलतर्फ गएको जानकारी दिइएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हेरम्ब पाण्डेको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ हिँडेको छ । घटनास्थल आसपासमा फोन नलाग्ने र प्रहरी सञ्चार सेटले काम नगर्ने हुँदा घटनाबारे विस्तृत जानकारी लिन कठिनाई भएको उल्लेख गरिएको छ ।

Related Articles

Back to top button
Close