News

विदेशमा रहेका नेपालीलाई खुसीको खबर; हवाई उडान खोल्ने तयारी : पहिले आन्तरिक त्यसपछि मात्र अन्तर्राष्ट्रिय !

चैत ११ गते (लकडाउन) देखि हवाई उडानमा लाग्दै आएको प्रतिबन्ध चाँडै खुला हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिले आन्तरिक उडान खोल्ने गरी सरकारले तयारी थालेको बताएका हुन् । त्यसपछि अगस्तको दोस्रो साता अन्तर्राष्ट्रिय नियमित उडान गर्ने तयारी भइरहेको उनले बताए ।संचारकर्मी सँग कुरा गर्दै मन्त्री भट्टराईले भने, ‘हामीले अरु देशले कसरी उडान खोलिरहेका छन् भनेर पनि अध्ययन गरिरहेका छौँ । नागरिक उड्डयन प्राधिकरणलाई त्यसको निगरानी गर्न भनेको छु । चाँडै नै आन्तरिक उडान खोल्ने गरी पूर्वतयारी गरेका छौँ । अन्तर्राष्ट्रिय उडान भने त्यसपछि मात्र खोल्छौँ ।’

साउन ६ गतेसम्मको प्रतिबन्ध पछि खुला गर्न लागिएको हो भन्ने प्रश्नमा भट्टराईले ‘यति चाँडो त होइन तर खुल्न चाहीँ चाँडै खोल्ने तयारी रहेको’ बताए । साउन ६ गतेसम्मका लागि लगाइएको उडान प्रतिबन्ध केही समय थप भएर उडान खोल्ने देखिएको छ । यद्यपि, उडान खोल्ने वा प्रतिबन्ध लगाउने भन्ने विषयको टुङ्गो मन्त्रिपरिषदले लगाउनेछ । सम्भवतः विहीबार सार्वजनिक हुने मन्त्रिपरिषद्को निर्णयमा यस विषयको पनि सम्बोधन हुनेछ ।

अहिले आन्तरिक उडान खोल्ने पूर्वतयारी भने भइरहेको छ । अन्तर्राष्ट्रिय उडान भने अगस्तको दोस्रो साता खोल्ने सङ्केत पर्यटन मन्त्रीले दिएका छन् । कोभिड–१९ को जोखिम न्युनिकरण गरी सुरक्षित हवाई सेवा सञ्चालनसम्बन्धी प्रोटोकल तयार गरि स्वीकृत भइसकेको छ । प्रमुख विमानस्थलमा निश्चित दुरी कायम गरी सञ्चालनको तयारीको लागि मार्किङसहितको सुरक्षा उपाय उपनाइएको छ ।

मन्त्री भट्टराईले नै पत्रकार सम्मेलनमा उडान खोलेपनि जहाजबाट झरेपछि गन्तव्यसम्म जान सवारी साधनको आवश्यक पर्ने भएकाले सार्वजनिक सवारी खुल्ने÷नखुल्ने नै निश्चित नभएकाले उडान मात्र खोलेर नहुने बताएका थिए । तर, सरकारले सार्वजनिक सवारी चलाउन खुला गरिसकेको छ । यस्तो अवस्थामा अब उडान के हुन्छ भन्ने आम मानिसको चासो छ ।

उडान सुरक्षामा कुनै पनि सम्झौता हुन नदिन नागरिक उड्डयन प्राधिकरणले १३ वटा क्विक रिफरेन्स गाइड र १० वटा एडभाइजरी सर्कुलर जारी गरेको छ । वायुसेवा विमानस्थल तथा अन्य उडान सेवाले अपनाउनुपर्ने सुरक्षा तथा सावधानीको विषयमा एयरलाइन्सको लागि निर्देशन, कोभिड–१९ अवधिमा सञ्चालनका लागि एयरपोर्टस एण्ड ग्राउण्ड सर्भिसेज जारी गरेको मन्त्रालयले जनाएको छ ।

तयारी अवस्थामा विमान सेवा कम्पनीहरु

उडान सञ्चालनका लागि तयारी अवस्थामा विमान सेवा कम्पनीहरु बसेका छन् । उनीहरुले सरकारको निर्देशन कुरिरहेका बताएका छन् । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जहाजमा यात्रुलाई स्वागत गर्न आतुर रहेको बताएका छन । एयरलाइन्सको वेवसाइट तथा सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै बस्नेतले उडानका लागि बुद्ध एयर तयार रहेको उल्लेख गरेका छन् ।

मास्क, स्यानिटाइजरसँगै शारीरिक दुरीलाई अवलम्बन गर्दै नियमित उडानको लागि तयार रहेको बुद्धले जनाएको छ । बुद्धले केही सातादेखि नियमित पूर्वअभ्यास पनि गरिरहेको छ । यस अभ्यासमा ग्राउण्ड स्टाफ, विमान परिचारिका, पाइलट, टेक्निकल टिमलगायत सहभागी छन् । कर्मचारीले प्रोटोकल अनुसारको तालिम लिएर आवश्यक पीपीई लगायत प्रयोगमा ल्याएका छन ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र भनेको पर्यटन क्षेत्र हो । पर्यटन क्षेत्रमा असार १५ सम्म ३७ अर्बको नोक्सान भएको भनिएको छ । त्यसयता साउन सात गनेसमम थप सात अर्ब नोक्सान हुने अनुमान गरिएको छ । पर्यटन तथा हवाइ क्षेत्रको नोक्सानको अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गठन गरेको अध्ययन समितिले यो नोक्सानको अनुमान गरेको हो ।

Related Articles

Back to top button
Close