Auto News

मोटरसाइकल र कारकाे वार्षिक कर बढ्यो , कुनमा कति पुग्यो ?

काठमाडौं । बागमती प्रदेश सरकारले निजी कार तथा मोटरसाइकलको वार्षिक कर वृद्धि गरेको छ। साउन १ देखि कार्यान्वयनमा आएको आर्थिक ऐन २०७७ मार्फत् प्रदेश सरकारले सवारीसाधनमा लाग्दै आएको वार्षिक कर वृद्धि गरेकाे हाे।गत वर्ष १ सय २५ सिसीसम्मका मोटरसाइकलमा २७ सय ५० रुपैयाँ रहेको वार्षिक कर यो वर्ष ५० रुपैयाँ बढाएर २८ सय रुपैयाँ बनाइएको छ। यसैगरी १२६ देखि २५० सिसीसम्मका मोटरसाइकलमा ४४ सय रुपैयाँ रहेकोमा साउन १ देखि ४५ सय रुपैयाँ पुर्‍याइएको छ।

२५१ देखि ४०० सिसीसम्मका मोटरसाइकलमा ८ हजार ८ सय रुपैयाँ कर रहेकोमा बढाएर ९ हजार रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ। त्यस्तै ४ सय १ देखि ६ सय ५० सिसीसम्मका मोटरसाइकलमा १६ हजार ५ सय रुपैयाँ रहेको वार्षिक कर ३ हजार ५ सय रुपैयाँ बढाएकाे छ।

त्यसैगरि ६ सय ५१ सिसी माथिका मोटरसाइकलमा लाग्दै आएको २५ हजार १ सय रुपैयाँ वार्षिक करमा ४ हजार ९ सय रुपैयाँ बढाएर ३० हजार कायम गरिएको छ। उक्त व्यवस्था बागमती प्रदेश सरकारले ल्याएको आर्थिक ऐन २०७७ मा उल्लेख छ।

बागमती प्रदेश सरकारले निजी कारमा लाग्दै आएको वार्षिक कर समेत वृद्धि गरेको छ। आव २०७६/७७ मा १ हजार सिसीसम्मका कार-जिप-भ्यान र माइक्रो बसमा २० हजार ९ सय रुपैयाँ वार्षिक कर लाग्ने गरेकोमा आव २०७७/७८ मा २१ हजार रुपैयाँ लाग्ने भएको छ। त्यसैगरी १ हजार १ देखि १५ सय सिसीसम्मका निजी कारमा २३ हजार १ सय कर लाग्ने गरेकोमा अब २३ हजार ५ सय रुपैयाँ वार्षिक कर लाग्नेछ।

१५ सय १ देखि २ हजार सिसीसम्मका कारमा २५ हजार ३ सय रुपैयाँ कर लाग्दै आएकोमा साउन १ देखि २५ हजार ५ सय रुपैयाँ लाग्ने भएको छ। २००१ देखि २५०० सय सिसीसम्मका कारमा गत वर्ष ३५ हजार २ सय रुपैयाँ कर लागेकोमा चालु आवमा ३५ हजार ५ सय रुपैयाँ लाग्ने भएको छ।

त्यसैगरी २५ सय १ देखि २९ सय सिसीसम्मका कारमा ४० हजार ७ सय वार्षिक कर लाग्ने गरेकोमा चालू आवमा ४१ हजार रुपैयाँ कर कायम गरिएको छ।२९ सय १ सिसीदेखि माथिका कारमा ५८ हजार ३ सय रुपैयाँ कर लाग्दै आएकोमा चालु आवमा ५८ हजार ५ सय रुपैयाँ कर लाग्ने व्यवस्था बागमती प्रदेशले गरेको छ।

Related Articles

Back to top button
Close