Intresting

विवाह कहिले र कस्तोसँग गर्ने : संसारले मानेको वेदमा के छ ?

काठमाडौ । बीस वा चौबीस वर्ष ब्रह्मचर्यमा रही सैद्धान्तिक स्नातक, प्रायोगिक स्नातक र सैद्धान्तिक सम्पूर्ण पक्षलाई प्रयोगमा ल्याउन सक्ने स्नातकमध्ये कुनै एक किसिमको स्नातक भएपछि मात्र समावर्तन संस्कार (सहस्रधारा स्नान) र दीक्षान्त समारोह गरेका युवा र युवतीहरू गृहस्थाश्रममा प्रवेश गर्न पाउने सिद्धान्तको वर्णन वाजसनेयी संहिताको पारस्कर गृह्यसूत्र (का.३) मा छ । सूत्रकार र स्मृतिकारहरूका साथै आयुर्वेदविज्ञ सुश्रुतले समेत चौबीस वर्षसम्म ब्रह्मचर्यमै रहेर पढ्नुपर्ने धारणा प्रकट गरेको पाइन्छ ।

पण्डित दत्तरामले चाहिं २० वर्षसम्म ब्रह्मचर्यमा रही स्नातक भएका युवाले विवाह गरेर गृहस्थाश्रममा प्रवेश गरी यौनानन्द प्राप्त गर्न सक्ने बताएका छन् । सुश्रुत र दत्तराम दुवैले कन्याका निमित्त १६ वर्षसम्म ब्रह्मचर्यमै रहेर प्रायोगिक स्नातक हुनुपर्ने आशय व्यक्त गरेका छन् । ऋग्वेदको आश्वलायन श्रौतसूत्रमा कन्याका निमित्त पनि उक्त तीनखाले स्नातकमध्ये कुनै एक किसिमको स्नातक भएपछि स्नान (ज्ञानसागर–स्नान) संस्कार गर्नु अनिवार्य बताइएको छ । गुरुसँग विद्याध्ययनकालमा सिकेका सिद्धान्तहरूलाई व्यवहारमा लागु गर्नसक्ने प्रायोगिक स्नातक नभई दीक्षान्त समारोह नहुने र सो नभई गृहस्थाश्रम प्रवेश गर्न नपाउने नियम सूत्रकालमा रहेको देखिन्छ ।

कन्याहरूले ब्रह्मचर्यधर्म पालना गरेर स्नातक भएमात्र भनेजस्तो (रोजेको र खोजेको) युवा जीवनसाथी पाउने आशय अथर्ववेदमा प्रकट गरिएको छ । ऋग्वेद युगमा त आवश्यक सैद्धान्तिक ज्ञानलाई प्रयोग गर्न जान्ने १६ वर्षे युवतीले २०–२५ वर्षे युवासँग पनि विवाह गर्दथे । विशेष गरेर मन्त्रद्रष्टाले मन्त्रद्रष्टीसँग नै विवाह गर्दथे । सैद्धान्तिक ज्ञानमात्र गरेको, तर व्यवहारमा काँचो पण्डितलाई छोरी नदिने चलन पनि थियो ।

ऋग्वेदकी मन्त्रद्रष्ट्री सूर्यपुत्री सूर्याको विवाह चन्द्रमाका साथ गराउँदा दुवैको मञ्जुरी र अभिभावकहरूको स्वीकृतिमा दुवै कुलमा र केटाकेटीमा समेत कुनै सरुवा रोग भए नभएको कुरा थाहा पाउनका लागि धर्म–विज्ञान र चिकित्सा विज्ञानका धुरन्धर विद्वान्, देवताहरूका वैद्य अश्विनीकुमारहरूलाई जिम्मा दिइएको थियो । अश्विनीकुमारहरूको सिफारिसमा सूर्या स्वयंले साक्षात्कार गरेका ऋग्वेदका धर्म–विज्ञान, आयुर्विज्ञान, कामकला–विज्ञान र समाज–विज्ञानअनुकूलका मन्त्रहरूद्वारा सूर्या र चन्द्रमाको विवाह–संस्कार सम्पन्न भएको वर्णन पाइन्छ ।

त्यस युगमा यिनै मन्त्रहरूद्वारा वैदिक युगका ऋषिहरूले आफूसमानका नारीसँग प्राणीग्रहण संस्कार सम्पन्न गर्थे । उत्तरवर्ती युगका गौरीशङ्कर, सीताराम र राधाकृष्ण आदि देवताहरूका विवाहदेखि आजसम्मका सम्पूर्ण हिन्दु विवाहहरू यिनै मन्त्रहरूबाट नै सम्पन्न गरिँदै आएका छन् । यी मन्त्रमा कामकलालाई प्रशस्त महत्व दिइएको छ र जीवनका चार पुरुषार्थमा यसलाई गणना गरी मानवीय जीवनको सफलताको एउटा आधार कामशक्ति पनि हो भन्ने कुरालाई स्वीकार गरिएको छ । धर्म, आयु र काम, यी तीन किसिमको वातावरण अनुकूल गराई गृहस्थाश्रमलाई सुख–शान्तिमय गराउन उक्त वैदिक मन्त्रहरूद्वारा राष्ट्रभृद्, जया, गुप्ताहुति र लाजाहोम आदि गर्ने गरिन्छ ।

गृहस्थाश्रमलाई एक आपसमा मिलेर चलाउने प्रतिज्ञामा आधारित सप्तपदी गरी चतुर्थी होम गरेपछि मात्र दुई धाराको जल एकै ठाउँमा मिसाएर एकै बनाएझै वेदमन्त्रद्वारा वर र वधूका पञ्च ज्ञानेन्द्रिय, पञ्च कर्मेन्द्रिय एवं आत्मा एकै गराउने प्रतिज्ञा गरिन्छ । तब मात्र दुई जीवात्मा एक हुन पुग्दछन् र हिन्दू विवाह सुसम्पन्न हुन्छ । यसरी हिन्दू विवाह पद्धति यौन समागममा मात्र आधारित छैन, यौन र भावना दुवैको ऐक्य र सम्मिलनमा आधारित छ ।

यो स्त्रीत्व र पुरुषत्व एक भई अर्धनारीश्वर हुने विज्ञान हो । यसबाट दम्पतिको सर्वत्र समान हक अधिकार सुरक्षित हुन पुग्ने विश्वास मनीषिहरूले प्रकट गरेका छन् । यसरी विवाह बन्धनमा बाँधिएकी पतिव्रता स्त्रीले आफ्नो पतिलाई वश गर्न सक्छे भन्ने धारणा धर्मशास्त्रहरूमा प्रकटित छ । यसैलाई आधार मानेर सृष्टि सञ्चालनका लागि वेदले अग्नितत्व र सोमततत्वको, साङ्ख्य दर्शनले प्रकृति र पुरुषको, वेदान्त दर्शनले माया र ब्रह्मको, पुराणले शक्ति र शिवको अवधारणा प्रस्तुत गरेको देखिन्छ ।

Related Articles

Back to top button
Close