News

आइसोलेसनमा मृत्यु भएका बाबुरामका २ छोरालाई उच्च शिक्षा, श्रीमतीलाई रोजगार

बुटवलको धागो कारखानामा रहको कोरोना विशेष अस्पतालमा १६ चैतमा मृत्यु भएका बाबुराम थापाको परिवारलाई प्रदेश र स्थानीय सरकारले सहयोग गर्ने भएको छ ।

‘आइसोलेसन’मा उपचारको क्रममा मृत्यु भएका उनका परिवारले क्षतिपूर्तिको माग गर्दै १० दिनदेखि शव उठाएका छैनन् । मृतक थापाको परिवारले नगद २५ लाख रुपैयाँसहित रोजगार र छोरालाई निःशुल्क शिक्षा दिने माग राखेको छ ।

सोमबार मात्रै पाल्पाली समाज रुपन्देहीका अध्यक्ष पदम कार्कीको नेतृत्वमा मानवअधिकारकर्मी विनोद पहाडी, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जि.सीले सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग छलफल गरेका थिए । छलफलमा प्रदेश सरकार २ छोरालाई निःशुल्क शिक्षा दिन लिखित रुपमै तयार भएको मन्त्री बरालले प्रतिबद्धता जनाएका थिए ।

श्रीमती रितालाई सैनामैना नगरपालिकाले रोजगारको ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाएको उनले बताए । परिवारले २५ लाख नगद समेत क्षतिपूर्ति हुनुपर्ने माग राखे पनि रकम भने प्रदेश सरकारले दिने सम्भावना नरहेको मन्त्री बरालले बताए ।तत्कालका लागि मृतक थापाको क्रियाखर्चका लागि स्थानीय सरकारसँग पहल भने गर्न सकिने उनले बताए ।

बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र पाल्पा रिब्दिकोट गाउँपालिकाले राहत स्वरुप केही रकम दिने र त्यसको पहल मन्त्रालय स्तरबाट गर्न सकिने छलफलमा कुरा भएको अध्यक्ष कार्कीले बताए ।

चैत ६ गते दुबईबाट नेपाल आएका थापा चैत १३ गते धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।अस्पताल भर्ना भएको ३ दिनपछि उनको मृत्यु भएको थियो ।

Related Articles

Back to top button
Close